फेरि तिम्रो याद आयो
बितेको समय र छुटेका मान्छे किन प्रिय हुन्छन् होला ?
प्रिय तपाईं,
कहिले काहिँ अचानक केही भइदिन्छ । जस्तो अचानक हावा चल्छ । अचानक पानी पर्छ । अचानक एउटा मुस्कान आएर बिलाइजान्छ । अचानक गुनगुनाउन मन लाग्छ । अचानक कसैको याद आइदिन्छ ।
आज अचानक चिठी लेख्न मन लाग्यो ।
१५ दिने सप्ताहन्तमा हेर्ने कथाबाट हुने हाम्रा भेटघाटले अझै नपुगे-नपुगे जस्तो लागेर ‘महिनामा एउटा चिठी लेख्छौं ल’ भनेर सुरु गरेको यो पत्र यात्रा पनि खै कता अल्मलियो । ठ्याक्कै २ वर्ष पछि आज अचानक केही भइदियो ।
आम्मामा, २ वर्ष ! हेर्नुस् त कति सजिलै, कति छिटै पत्तै नपाई उडी जान्छ समय । कहिलेकाहिँ समयको रफ्तार देखेर पनि उदेक लाग्छ । अब दुई महिनामा हेर्ने कथा पनि ७ वर्ष पूरा हुन्छ ।
विद्या र म बिच एउटा सहमति भएको छ । अबदेखि हरेक महिना चिठी लेख्ने । एउटा विद्याले लेख्ने अर्को चाहिँ मैले । सुरु मैले गरेँ । तर हाम्रो यो नयाँ सहमतिको मसी नसुक्दै तपाईंको मञ्जुषामा हाम्रो नामका खामहरु झर्न छाडे भने अचम्म नमान्नु ल ।
कस्तो छ तपाईंलाई ?
कत्ति धेरै कुरा सुनाउँछु जस्तो लागेको थियो । यो लेख्छु र त्यो लेख्छु भनेर मन उडेर कहाँ कहाँ पुगेको थियो । लेख्ने बेलामा चाहिँ कल्पनाहरुले थिचिएर शब्दहरु हराउँदा रहेछन् । त्यस्तै भयो ।
अँ कस्तो छ तपाईंलाई ? परदेशमा हुनुहुन्छ कि स्वदेशमा । सपना पछ्याउँदै हुनुहुन्छ कि भेटिसक्नुभयो ? खुसि हुनुहुन्छ कि निराश हुनुहुन्छ ?
हामीलाई पनि ठीक छ । यतिखेर काठमाडौंमा छौं । काठमाडौंमा अलिअलि गरेर जाडो घट्दै छ । दिउँसो पारिलो घाम लाग्छ । साँझको सुन्तले रङमा यदाकदा हिमाल टल्किन्छन् ।


शिशिरका दिनहरु अब बिस्तारै विदा हुन्छन् । वसन्त आउनेछ ।
हाम्रो कथा यात्रा जारी छ । पछिल्लो समय धनुषा छेउछाउको छोटो यात्रा गरेर आयौं । केही मिठा सम्झना र मिठा कथा छन् । त्यसअघि भारत यात्रा गरेका थियौं । मनै लोभ्याउने असम र मेघालयका कथाहरु पनि फुकाउँदै जानेछौं ।
कहिलेकाहीँ अचानक हेर्ने कथाका पुराना कथाहरु पल्टाएर हेर्न मन लाग्छ । सुरुसुरुका कथाहरु । क्यामेरा र सम्पादन नमिलेनमिले जस्तो लाग्ने कथाहरु अहिले हेर्दा कस्तो प्रिय लाग्ने । अस्ति भर्खर जस्तो लाग्छ ढोरपाटनका चौकिनीहरु भेटेको, हिजो जस्तो लाग्छ झ्याउलीका जुनताराका गीत सुनेको । कहाँ होलान् उनीहरु ?
बितेको समय र छुटेका मान्छे किन प्रिय हुन्छन् होला ?

आजको विहान मेरो केही समय पुराना समयहरुसँग बित्यो - अलिअलि कल्पनामा, अलिअलि सम्झनामा ।
अनि आजै नेपथ्यको ‘शिरफूल शिरैमा’ गीत चर्को भोल्युममा कतिपटक सुनेँ भनीसाध्य छैन । त्यसको कारण र छोटो कथा छ ।
कथाको सारांश यसप्रकार छ : हिजो सपरिवार चरा हेर्न टोखा गएका थियौं । त्यहाँ भेटिए मोहन श्रेष्ठ । चीनमा बसेर पानी ओतमाथि पिएचडी गरिरहेका मोहनसँग छोरीको नाम ‘भेरी’ माथि चर्चा भयो । उनले सुनाए ‘सानी भेरी’’ नदी तिर अनुसन्धानमा डुल्दाका सम्झना । उनैले पुर्याए पूर्वी रुकुमका पेल्माको तिरैतिर र याम्खाको भीरैभीर । अनि यो सप्पै कुरो जोडियो अमृत गुरुङले बुनेको ‘शीरफूल शिरैमा’ सँग ।
अनि गीत सुन्दै म पुगेँ फेरि ढोरपाटनतिर । अनि अरु पुराना कथातिर ।
म सोच्दैथिएँ महिनामा एउटा चिठी लेख्ने नयाँ कर्मलाई आत्मसात गरिसकेपछि - चिठीलाई तपाईंको समयको बर्बादीबाहेक थप केही कामलाग्दो कसरी बनाउने होला ? मैले हेरेका फिल्म र सुनेका गीत सिफारिस गरेर ? हेर्ने कथाबारे तपाईंलाई थाहा नभएका किस्सा कहानी सुनाएर ? चराका कुरा गरेर ? वा यस्तै अमूर्त गन्थन गरेर ?
प्रिय तपाईं, भनिदिनुस् है ।
आजलाई यत्ति । बाँकि अर्को भेटमा,
के. के.
चिठी त सकियो ! अब ?
हेर्ने कथालाई सहयोग गर्न चाहनुहुन्छ भने :
हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्ने
हेर्ने कथालाई Patreon मार्फत सहयोग गर्ने
युट्युबमै हेर्ने कथाको Channel Member बन्ने





धेरै पछि पत्र प्राप्त गर्दा हामी अझै छुटेका रैनछौ भन्ने लाग्यो।
धन्यवाद पत्रको लागि गेर्ने कथा टिमलाइ आउने दिनगरुमा पनि यस्तै गन्थनमन्थन पढ्न पाइयोस शुभ बिहानि UAE ABU DHABI