चिनी कम, रङ कडा
पर्खनेहरुका लागि त घडी पनि टक्क अडिँदो हो ।
प्रिय तपाईं,
सुन्नुस् न !
यो शब्दै प्रिय लाग्छ मलाई । ‘तपाईं’ जस्तै ।
सानोमा तिमी ठूलो भएर के बन्ने भनेर कसैले सोधे, तपाईंको उत्तर के हुन्थ्यो ?
मेरो चाहिँ - लेखक
तर कस्तो विरोधाभाष ! अहिले हेर्ने कथाकै स्क्रिप्ट पनि लेख्दिनँ म । कमलले लेख्छ । उसले लेखिरहँदा छेउमा पनि बस्दिनँ । भन्छ - ‘कोही नजिकै भए मलाई फुर्दैन ।’ म छेउ लाग्छु ।
यसरी महिना दिनमा एउटा चिठ्ठी लेख्न बस्छु त्यो पनि कस्तो गाह्रो ! कस्तो गह्रौ ! मिठो लेख्ने प्रेसरले थिचिएपछि शब्दहरु यस्तै भारी बनिदिन्छन् सायद ।
प्रेसरलाई ठ्याक्कै नेपालीमा के भन्छन् ?
दबाब
तर यो प्रेसरको भाव दबाबले के बुझोस् !
म एउटा यस्तै अमूर्त पत्र कोरिरहेछु तपाईंको लागि । मैले जस्तै लेखे पनि मिलाएर पढ्नुस् है ।
जीवन यस्तै विरोधाभाषमा चल्छ शायद ।
यो महिना कथाका कुरा गर्न पुल्चोक इन्जिनियरिङ कलेज पुगेका थियौं । कसैले सोध्नुभएको थियो -
यत्ति धेरै जीवन पढिसकेपछि तपाईं आफैलाई चाहिँ जीवन के हो जस्तो लाग्छ ?
कति सजिलो प्रश्न ।
कति गाह्रो उत्तर ।
मैले चिट चोरेँ - ‘भन्तेको कथा’बाट । र भनिदिएँ - जीवन कहिले नसुल्झिने पहेली रहेछ ।
जाडो महिनामा मलाई मन पर्ने दुइटा कुरा ।
एउटा त जाडो नै भयो ।
अर्को चिया !
जाडो महिनामा झरि परेको दिन । हामी दिउँसै सिरकभित्र गुटमुटिन्थ्यौं । आमाले अँगेनामा हाँडी बसाल्नुहुन्थ्यो । घरभरि भुटेको मकै बसाउँथ्यो ।
पुष-माघको ठन्डीमा मलाई सुकेका चउरहरुमा यो कविताको चिनी खोज्न मन लाग्छ ।
चिनी कम, रङ कडा, दुध हालेको चिया मेरो फेभरेट हो । तपाईंको नि !
चियासँगको सम्बन्ध पनि चियाजस्तै मिठो छ । चिया माया, चिया सम्झना, चिया रहर, चिया रिस, चिया साथी । हेर्ने कथा पनि चियाबाटै सुरू भएको हो नि । कमल कुमार र मैले चिया गफमै जागीर छाड्यौं । चिया गफमै हेर्ने कथा नाम जुर्यायौं । चिया गफमै कथा सुरु गर्यौं । यस्तै छ हउ चियाको कथा ।
अहिले पनि चिया पिउदैं तपाईंको कमेन्ट पढ्दै थिएँ । यो कमेन्ट चाहिँ चियाभन्दा पनि मिठ्ठो ।
Each episode of Herne Katha leaves me with deep satisfaction, realization and enriches me with diverse experience of life. After going through the story, I feel that I haven't just gone through it but I lived through it. It creates me hope, strength and positivity towards life, towards future. Thank you entire "Herne Katha Team" bringing such wonderful documentaries.
Prem Chhitizz
अंग्रेजी नयाँ वर्षको अन्तिम दिन पोखरामा थियौं । पामे फिल्म फेस्टिबलमा बाघको बङ्गारा देखाउन गएका । पोखरेलीहरुले जीवनभरिलाई पुग्ने माया दिनुभयो । हतारमै भेटेर हतारमै छुट्टिएका बेगनासका सुवास थकालीलाई धन्यवाद भन्ने शब्द सायद कहिल्यै भेट्ने छैनौं ।
तुँवालो, धुवाँ र धुलो नहुँदो हो त पूर्वदेखि उत्तरसम्मै टल्कने हिमालले यतिबेला काठमाडौं कति खुल्दो हो ! साँझको सुन्तले आकाशमा सेतो हवाईजहाज कति खुल्दो हो !
म जन्मी हुर्केको मेरो काठमाडौं । धेरैका सपना र वाध्यताको सहर काठमाडौं ।
आउने साता यो सहर छोडेर केही दिनका लागि सुदुरपश्चिमतिर लाग्दैछौं । हरेक पल्ट यात्रामा निस्किन लाग्दा उहिले उहिले रेडियो नेपालमा बजिरहने यो गीत खुब याद आउँछ । अनि मनमनै आफैलाई भन्छु - म तिम्रो सहर छोडी टाढा टाढा जादैछु ।
म त केही दिनमै आफ्नै गाउँ फर्कि आए भन्दै नाच्दै घर फिर्छु तर यसरी आफ्नो गाउँसहर छोडी टाढा टाढा पुग्नेहरुलाई कुन गीतले सम्झाउँदो हो नि आफ्नो ठाउँ ! कुन सम्झनाले पुर्याउँदो हो नि आफ्नो गाउँ !
यात्राको सप्ताह हेर्ने कथा घरमा मिचो हुन्छ । बजाउने नयाँ कथाको काम अनि खिच्ने नयाँ कथाको खोजी निकै रोमाञ्चक हुन्छ । यतिबेला हाम्रा आखाँले जे पनि कथा देख्छन् ।तपाईंका आखाँले देखेका कथा पनि हामीलाई भन्नुस् ल ।
‘प्रकृतिलाई प्रेम गर्ने मान्छे साँच्चिकै सुन्दर हुदा रहेछन्’
बारेकोटको कथा हेरेपछि जगदिश घराडीको यो ट्वीटले बारेकोटका गोविन्द सरको कर्मको सार बोलिदिन्छ ।
आजलाई यति नै, अब अर्को महिना भेटौंला है !
उही तपाईंकी,
विद्या
चिठी त सकियो ! अब ?
हेर्ने कथालाई सहयोग गर्न चाहनुहुन्छ भने :
हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्ने
हेर्ने कथालाई Patreon मार्फत सहयोग गर्ने
युट्युबमै हेर्ने कथाको Channel Member बन्ने












❤️❤️
" तिम्राेे सहरमा मलामि पनि किन्नु पर्छ है , तर हाम्राेे गाउँमा तरकारि पनि बाडेर खाइन्छ ।" 🙏 #सहरिया हाै भन्ने हरुका लागि । विशेष..😳
अनि मलाई नि सेयर गरिदिनु भयकाे मा हेर्नेेकथा परिवारमा आभारि छु । साथिले भन्नू भयझै मैलेनि चिया चुस्स पिउदै हजुर हरुकाे चिठि पठ्ने साैभाग्य पाय ।🙏💗धन्यवाद 🙏