प्रिय तपाईं,
समय कहाँ जान्छ ? समयको आकार के होला ?
अघिल्लो महिना पनि उडी गयो । केही थान सम्झनाहरु छाडेर । हिजो मात्र अघिल्लो चिठ्ठी लेखे जस्तो लाग्छ । डिसेम्बर आइसकेछ ! अंग्रेजी क्यालेन्डरको अन्तिम महिना । विशाल सूर्य वरिपरि हाम्रो पृथ्वीको एक फन्को पूरा हुने महिना । अर्को पत्र म सन् २०२३ मा लेखिरहेको हुनेछु तपाईंलाई । Happy new year !
आउने जानेका कथाहरु नै होला समय ।
पछिल्लो महिना पनि हेर्ने कथा घर उत्साह र उमङ्गले भरिपुर्ण रह्यो । जाने भन्दा पनि आउनेहरुका कारण ।
हाम्रा प्यारा साथी सन्देश बाबु बनेका छन् । उनकी सानी छोरी "नुनु" हेर्ने कथा परिवार र हाम्रो सानो संसारको सबैभन्दा नयाँ सदस्य हुन् । उनी ठ्याक्कै आफ्ना आमाबाबु जस्तै देखिन्छिन् | साँच्चि भनेको । नयाँ सुरुवातले दिने खुशी कति अतुलनीय हुन्छ है ? झन् नयाँ जीवनको सुरुवात त बयानै गर्न नसकिने । सन्देश, सुष्मा र नुनुको सुनौलो परिवारलाई धेरै धेरै बधाई !
अर्को समाचार पनि छ नि ! हेर्ने कथा टोलीमा नयाँ सदस्य आएकी छिन्: मुना ।
मलाई अझै पनि याद छ, २०१८ सालमा म स्नातक पढ्दै गर्दा हेर्ने कथा सुरु भएको थियो। त्यति बेला जम्मा २५ वटा कथाहरु मात्र आएका थिए। बेली ब्लुज चाहिँ सबै भन्दा मनपर्ने कथा थियो र त्यस कथालाई आधारित बनाएर कक्षाकोठामा प्रस्तुती दिएको थिएँ। मनमा दुईटा कुरा फुरेको थियो। हेर्ने कथाले कसरी कथा बटुल्छ होला ? र आउने दिनहरुमा हेर्ने कथा परिवार सँगै काम गर्न पाउँ भन्ने ।
समय पनि कति छिटो बित्ने, पत्तै नपाउने गरि। हेर्नुस् न ! स्नातक नि सकियो। सबै साथीहरु लाखा पाखा लागे। बहिनी पनि परदेश पुगि। तर तपाईंलाई थाहा छ ? मेरो जिन्दगीको नयाँ पन्ना सुरु भयो जब म हेर्ने कथा परिवारको सदस्य बने। २०१८ सालमा जागेका प्रश्नहरुको उत्तर बुझ्दै अनि सिक्दै छु। आजका दिन सम्म आइपुग्दा ९५ वाट कथाहरु आइसके। कति छिटो है ! म अहिले हेर्ने कथा परिवारसँगै काम गर्छु नि। मलाई त सपना जस्तै लाग्छ । मैले सोचेको इच्छाहरु पूरा भए। हेर्ने कथा संगको पहिलो मेरो दिन नै घर जसरी बित्यो। एकमुस्टमा भन्नु पर्दा हेर्ने कथा मेरो लागि मायालु परिवार बनेको छ। अब देखि माया नै माया छ तिम्रो गाउँमा होइन कि माया नै माया छ हेर्ने कथा घरमा भन्छु म ।
- मुना
यो महिना साँच्चै नै कति छिटो बित्यो । हामी "बाघको बङ्गारा" बनाउन मै व्यस्त भयौं । नयाँ कथा देखाउने १५ दिनको भाका पनि नाघ्यो । यसपालीको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सुरुवात "बाघको बङ्गारा" देखाएर भयो । हाम्रो लागि कति हर्षको कुरा । तपाईंलाई थाहा छ ? हेर्ने कथाको सुरुवात पनि किम्फबाट नै भएको थियो नि ! ५ साल पहिले हामीले किम्फमा "मरिसकेको मान्छे" देखाएका थियौं । मरिसकेको मान्छेले त्यस बेला Best Documentary को अवार्ड पनि जितेको थियो । बाघको बङ्गारा पनि छिट्टै युट्युबमा राख्नेछौं है ।
“कथाका कुरा” गर्न अघिल्लो महिना हामी हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुग्यौं । हामीलाई आमन्त्रित गर्ने शिक्षक हरिश भट्ट लेख्छन्:
हामी पढाउने मान्छे। अझ कानुन पढाउने मान्छे। हरेक व्यक्तिका कथा हुन्छन्। हरेक पेशाका कथा हुन्छन्। हरेक समयका कथा हुन्छन्। कथा सुन्ने गरिन्छ। हजुरआमाबाट । पुरेतबाट। बुबाबाट। पहिले पहिले सुनिने कथाहरु कथाकारहरुले लेख्न थालेपछि लेखिन थाले। पढिन थाले। समयको माग हो आजकल ‘हेर्ने कथाहरु’ बन्न थालेका छन्।
अस्ति भर्खर हाम्रो साथी कमल दिल्ली गएको थियो । उर्दु भाषाको सबैभन्दा ठूलो साहित्यिक महोत्सव - "जश्न-ए-रेख्ता" हेर्न । उसले दिल्लीबाटै हामीलाई उर्दु र फारसी भाषाका वागीश - मिर्ज़ा ग़ालिबको शब्दको सौगात पठायो ।
“हम वहाँ हैं जहाँ से हम को भी
कुछ हमारी ख़बर नहिं आती”
मिर्ज़ा ग़ालिब
भाषा र सुरुवातको कुरा गर्दा सोच्छु - कथाहरूको सुरुवात चाहिँ कहाँबाट भयो होला ? धेरैले सोध्छन् "कथा त सुन्ने हैन ? हेर्ने कथा नि हुन्छ त ?" तर भाषाहरू हुनु भन्दा पहिले त कथाहरु हेरिन्थ्यो हैन र ? चित्र कोरेर, हातको, औंलाको छाप छोडेर । अहिलेको डिजिटल दुनियाँको पो हेराई फरक भयो ।
काठमाडौंमा चिसो बढ्दै छ । घाममा बसेर सुन्तला खाने बेला । तपाईं बस्ने ठाउँको मौसम कस्तो छ ? पहिला पहिला गुन्द्रीमा बसेर सुन्तला खाँदा अर्कै रमाइलो लाग्थ्यो । जाडो भए पनि बिहानदेखि बेलुका सम्म पारिलो घाम लाग्थ्यो । आजकल सहरमा घरहरु धेरै छन् । आकाश पनि साँघुरिए जस्तो लाग्छ । घामका किरणले जमिन चुम्न पनि संघर्ष गर्नु पर्ने ।
जिम्मेवारीले जति थिचे पनि अलिकति समय निकालेर घाम ताप्न चाहिँ नबिर्सिनु है । हाम्री साथी अनुषा अहिले बेल्जियममा छिन् । त्यहाँ जाडो महिनामा पानी पर्छ रे । हामीलाई फोन गर्दा जहिले पनि "घाम नदेखेको कत्ति दिन भयो, मलाई पोको पारेर पठाइदिनु" भन्छिन् ।
यसपालि नयाँ कथा देखाउन ढिला भए पनि पुराना कथाहरु हेर्दै गर्नु है । हामीलाई तपाईंको निरन्तर माया चाहिन्छ । अनि लाज नमानी एउटा कुरा मागेँ ल ?
हेर्ने कथाको युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन भने गर्नु है ? हामीले १०० अंक सम्म युट्युब च्यानलको सब्स्क्राइबर १० लाख पुर्याउने रहर गरेका छौं । यसले हामीलाई नयाँ कथाहरु खोज्न उर्जा दिन्छ । आफ्ना साथी अनि मन मिल्ने मान्छेहरुलाई पनि सब्स्क्राइब गर्न लगाउनु है ! हाम्रो लक्ष्य अब तपाईंको लक्ष्य पनि भयो ।
आजको चिठ्ठी यति मै टुंग्याउँ होला । अन्तिममा तपाईंको चिठ्ठी पढ्न छोड्दै बिदा लिएँ । अब सन् २०२३ मा भेटौँला ! :)
उही तपाईंकी,
विद्या
चिठी त सकियो ! अब ?
हेर्ने कथालाई सहयोग गर्न चाहनुहुन्छ भने :
हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्ने
हेर्ने कथालाई Patreon मार्फत सहयोग गर्ने
युट्युबमै हेर्ने कथाको Channel Member बन्ने
Thankyou
धन्यवाद हेर्ने कथा टिम सम्पुर्णमा विशेष बिध्या दिदि लाई 🙏💗